टेलिभिजन विज्ञापन बजारलाई उठाउने कसरी ?
नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ । विश्वमा टेलिभिजन सुरु भएको छ दशक र भारतमा सुरु भएको २५ वर्षपछि मात्र नेपालमा टेलिभिजन स्थापना भएको इतिहास छ । त्यसमा पनि नेपाल टेलिभिजनले एकछत्र राज गरेको १६ वर्षपछि मात्र निजी क्षेत्रका टेलिभिजन खुले । त्यसयताका करिब दुई दशकमा भने नेपाली टेलिभिजन क्षेत्र व्यापक भएको छ । टेलिभिजन च्यानलको संख्या, सामग्रीको विविधता र सञ्चार प्रविधिमा नेपाली टेलिभिजन क्षेत्रले निकै फड्को मारेको छ । गुणस्तरीय कार्यक्रम र प्रविधिमा लगानी गर्ने हो भने दर्शक र विज्ञापनदाताले सहर्ष स्विकार्ने रहेछन् भन्ने प्रमाणित पनि भएको छ । यद्यपि, मुलुकमा टेलिभिजन विज्ञापन बजार भने यथेष्ट छैन । आय बढाउनकै लागि टेलिभिजनहरूले ‘फ्रेन्चाइज रियालिटी सो’ जस्ता उपाय अपनाउन थालेका छन् । यसमा देखासिकी बढ्दो छ, यति धेरै कार्यक्रमलाई नेपाली विज्ञापन बजारले धान्न सक्छ कि सक्दैन भनेर अध्ययन भएको छैन । अध्ययन गर्न जरुरी ठानेको जस्तो पनि देखिन्न । तैपनि नेपाली दर्शकले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हेर्न पाउनुलाई उपलब्धि नै मान्नुपर्छ ।
आय बढाउनका लागि केही टेलिभिजनले गुणस्तर सुधारे भने केहीले कार्यक्रम । आफूले चाहेको टेलिभिजन वा कार्यक्रमलाई मात्र विज्ञापन वितरण गर्न सक्ने अवस्था छैन । च्यानल र फ्रेन्चाइज कार्यक्रम बढ्दा विज्ञापनदाता र एजेन्सीलाई चाप बढेको छ । एउटा टेलिभिजनमा विज्ञापन देखिनासाथ अरू सञ्चारमाध्यमले ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति बढ्दो छ । कोभिडका कारण टेलिभिजनहरूले सञ्चालन खर्च निर्मम तवरले घटाइरहेका छन् ।
नेपाली टेलिभिजनले आफ्ना कार्यक्रमहरू तुरुन्त डिजिटल प्लेटफर्ममा अपलोड गर्नु, टेलिभिजनको लोकप्रियताको मापदण्डै डिजिटल प्लेटफर्मलाई बनाउनु पनि बजार घट्नुको एक मुख्य कारण हो । डिजिटल प्लेटफर्मलाई नै प्राथमिकता दिएर कार्यक्रम निर्माण गरिनाले पनि बजार र प्रभाव घटेको छ । अर्को, बजारले धान्नै नसक्ने गरी च्यानलहरू खुल्नु र विज्ञापनदाता तथा एजेन्सीले ब्रान्ड अनुसार लक्षित दर्शकमा पुग्ने कार्यक्रम र टेलिभिजनमा मात्र विज्ञापन गर्न नपाउनु पनि हो ।
कुनै नयाँ ‘क्याम्पेन’ गर्दा १०–१५ वटा टेलिभिजनसहित अनगिन्ती सञ्चारमाध्यममा विज्ञापन दिनैपर्ने अवस्था छ । विज्ञापन नदिए विभिन्न ‘इस्यु’ निकाली ब्रान्ड र विज्ञापनदाताको व्यक्तिगत चरित्र नै हत्या गर्ने गरी अमर्यादित सामग्री बनाउने परिपाटी छ । मूलधारका कतिपय जिम्मेवार सञ्चारमाध्यमले यसो नगरे पनि सबै सफा नियतका छैनन् । यही कारण, विज्ञापनदाताहरू हच्किन थालेका छन् । विज्ञापन दिनुभन्दा नदिनुमै आफू र कम्पनीलाई सुरक्षित महसुस गर्न थालेका छन्, जसले गर्दा विज्ञापन बजार घटेको छ । अर्को, विज्ञापनमार्फत वैदेशिक मुद्रा सञ्चितिमा परेको चापबारे पनि विमर्श भएकै छैन । सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च – जुन विदेशी मुद्रा वा डलरमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ – बारे नेपाल राष्ट्र बैंकसँग पनि वास्तविक आँकडा नहुन सक्छ । सरकारले यसको नियन्त्रण गर्न नसक्दा नेपाली मुद्रा बिदेसिएको त छ नै, साथमा टेलिभिजन उद्योग खोलेर बसेका उद्यमीहरू समस्याग्रस्त भएका छन् । अझ, यसैलाई प्रश्रय दिने गरी टेलिभिजन व्यवस्थापकहरूले अनजानमै आफ्ना सामग्रीहरू सामाजिक सञ्जालमा सहजै उपलब्ध गराउन थालेका छन्, जसलाई गलत अभ्यास भन्दा अत्युक्ति नहोला ।
इन्टरनेटको विकासले सकारात्मक प्रभाव पनि नपारेको होइन । विगतमा समय निकालेर निर्दिष्ट समयमै हेर्नुपर्ने कार्यक्रम अहिले फुर्सदमा हेर्न सकिन्छ । यसलाई टेलिभिजन व्यवस्थापकहरूले व्यवस्थापन गर्न नजान्दा मात्रै उद्योगमा संकट परेको हो । आफ्ना मौलिक निर्माणहरूका हकमा त टेलिभिजनहरूले सामाजिक सञ्जालको बाटो रोज्नै हुँदैन । टेलिभिजनबाहेक आफ्नै एप वा वेबसाइटबाट मात्र कार्यक्रम हेर्न मिल्ने व्यवस्था गरेमा टेलिभिजन उद्योगको भविष्य सुनिश्चित छ । अझ यस्ता सामग्री शुल्क तिरेर मात्र हेर्न मिल्ने व्यवस्था गर्न सकिएमा थप आम्दानी हुन सक्छ । भारतलगायतका विकसित मुलुकहरूमा अभ्यास भैसकेको यस्तो परिपाटीबारे नेपाली टेलिभिजन उद्यमीहरूबीच पनि कुरा मिल्न सक्नुपर्छ । यस्तै, प्रतिलिपि र बौद्धिक अधिकारका लागि यथोचित पहल गर्न सकेमा पनि प्रभावका हिसाबले सबैभन्दा सशक्त सञ्चार माध्यमका रूपमा टेलिभिजन रहिरहन सक्छ । र, टेलिभिजन विज्ञापन बजार थप मर्यादित र प्रभावकारी पनि हुन सक्छ ।
खुम्चिँदो विज्ञापन बजारका बावजुद टेलिभिजनको संख्या बढ्नु नेपाली व्यावसायिक मनोविज्ञानको उपज हो । यस सन्दर्भमा नेपालीको व्यवसाय किन डुब्छ भनेर निर्क्योल निकाल्दा एउटै उत्तर आउँछ- अध्ययन–अनुसन्धान नगरी लहलहैमा व्यवसाय गर्ने परिपाटी ।
विज्ञापनका लागि टेलिभिजन उद्यमीहरूले रचनात्मक उपाय लगाउन सकेका छैनन्, र आफूहरू धराशायी भएको निष्कर्षमा पुग्दै छन् । तर आयकै लागि पत्रकारिताको धर्म र आचारसंहिता उल्लंघन गरी कसैलाई बोक्ने र कसैको व्यावसायिक मानमर्दन हुने गरी सामग्री बनाई प्रसारण गर्ने क्रियाकलापले गर्दा पनि केही नेपाली टेलिभिजन उद्यमी बदनाम भएको वास्तविकता छ ।
नयाँ मिडिया जति सशक्त रूपमा आए पनि टेलिभिजनको महत्त्व अझै उत्तिकै छ, तर यसलाई प्रमाणित गर्न टेलिभिजन उद्यमीहरूले सक्नुपर्छ । प्रविधिको विकाससँगै फराकिलो बनेका सञ्चारमाध्यमका दायराहरूमा फक्रन सक्नुपर्छ । सामाजिक सञ्जालको विश्वसनीयता घट्दै गइरहेको परिप्रेक्ष्यमा टेलिभिजनप्रति जनविश्वास कायमै राख्न अझ सहज छ । ‘हाई डेफिनेसन’ मा प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण पनि टेलिभिजनको महत्त्व अझै व्यापक छ । अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन सेट रहेको अनुमान गरिन्छ । नेपालमा ४० लाखभन्दा बढी घरमा टेलिभिजन भएको तथ्यांक हुँदा मोबाइलमार्फत टेलिभिजन हेर्नर्कोे संख्या अझ बढी रहेको मानिन्छ । नेपालको कन्टेन्टलाई विदेशी बजारमा पुर्याउन सकेमा यसको दायरा अझ बढाउन सकिन्छ । नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके, यी सबै पक्षको व्यवस्थापन मिलाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ ।
सुवेदी नेपाल विज्ञापन संघ (आन) का कार्यसमिति सदस्य हुन् ।
प्रकाशित : फाल्गुन २६, २०७९ ०७:२४, कान्तिपुर लिंक:

Leave a Reply